‘शहरको कथा’
किशोर नेपालको उपन्यास “शहरको कथा”को छोटो विश्लेषण
देशमा लोकतन्त्र स्थापनापछिको परिवेशमा शहर (विशेषत: काठमाण्डौ)मा देखिएको ’परिवर्तन’लाई लेखकले उतार्न प्रयास गरेका छन् | काठमाडौँबाहिर बाट ठुल्ठूला सपना बोकेर राजधानी खाल्डो छिरेका फरकफरक पृष्ठभूमिका फरकफरक युवतीहरुको कथालाई “म” पात्रका माध्यमबाट जोडिएको छ | पृष्ठभूमि जे भएपनि सङ्घर्षका समान कथा बोकेका छन् तिनले | बीचमा धेरै उतारचढाव बोकेपनि उपन्यासको अन्त्यसम्म आइपुग्दा ती पात्रका कथा पनि अलगअलग धारमा पुगेर टुङ्गिन्छन् | सङ्घर्षका क्रममा कोही सफल हुन्छन् त कोही असफल; तर मनैदेखि कोही सन्तुष्ट नरहेको देखिन्छ | उपन्यासले द्वन्द्वकालपछि देशको फेरिएको राजनीतिक परिवेश, अराजक सामाजिक मनोवृत्ति, द्वन्द्वको घाउमा मलमपट्टी लगाउने नाममा विदेशी गैरसरकारी संस्थाहरुले गरेको डलरको खेती, शहरी युवाहरुमा खुल्दै गएको यौनिक मानसिकता लगायतका कुरा समेटेको छ | अझै सुधार गरिनुपर्ने ठाउँ भएपनि पत्रकारिताको शैलीमा लेखिएको यस उपन्यासमा किशोर नेपालले गरेको प्रयास प्रसंशनीय छ | उत्कृष्ट नै नभएपनि “शहरको कथा” पढ्न लायक भने छ |
Republished in April 2021